मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् ।

पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् । “निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उनले भने “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।”

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको दाबी गरे ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने पनि दाबी गरे । “केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने, ‘निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।”

उनले मुलुकमा कुनै समस्या आए र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको समेत बताए ।

अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा व्यक्त गरे । “उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ”, पौडेलले भने, ‘निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नुभएको छ । त्यो हामी पूरा गर्न दिँदैनौं ।”

उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको समेत बताए । पौडेलले कोभिड–१९ का कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै अहिले प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अङ्ग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको दाबी गरे ।

उनले प्रतिनिधिसभा विघटन वैशाखसम्म मात्र भएकाले वैशाखपछि सामान्य परिस्थिति हुने बताए । मुख्यमन्त्री पोखरेलले आफूले पार्टी जोगाउन अन्तिम प्रयास गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारणले पार्टी विभाजनतिर गएको आरोप लगाए ।

केपी शर्मा ओली महाधिवेशनबाट नै अध्यक्षमा निर्वाचित भएकाले केन्द्रीय कमिटीले हटाउन नसक्ने दाबी गरे ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *